निजी सवारी भाडामा लगाउन नदिन प्रहरी र पोखरा महानगरको सहकार्य

लेकसाइडका ४५ पसललाई सचेत गराइयो, ५५ बोर्ड हटाइयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा नियम विपरित निजी सवारी साधन भाडामा लगाउने व्यवसायीलाई सचेत गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भुवन बरामका अनुसार नियम विपरित निजी सवारी साधन सञ्चालन गर्ने लेकसाइडका ४५ पसललाई सचेत गराइएको हो ।

ट्राफिक प्रहरी कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरको संयुक्त टोलीले नियम विपरित निजी सवारी साधन भाडामा लागाउने ४५ पसललाई आइन्दा भाडामा नलगाउन सचेत गराएको छ । उक्त अवसरमा बाइक अन रेन्ट लेखिएका ५५ वटा बोर्ड हटाइएको छ ।

कानुन विपरित निजी सवारी साधन भाडामा लगाएको गुनासो आएपछि सुरुमा सचेत गराइएको प्रहरी निरीक्षक बरामले बताए । ‘कानून बिपरित निजी गाडी, मोटरसाईकल तथा स्कुटर भाडामा दिइ पसल सञ्चालन गरेका ४५ वटा पसलहरुलाई सचेत गराउँदै ५५ वटा बोर्ड हटाइएका छौं । सुरुमा सचेत गराएका हौं । अटेर गरे कारबाही हुन्छ’ उनले भने ।

पछिल्लो समय विभिन्न यातायात व्यवसायी कम्पनीले र सार्वजनिक सवारीका धनीले निजी सवारी साधनले यात्रु ओसारेको गुनासो गर्दै आएका छन् । पोखरेली ट्याक्सी सेवा प्रालिले निजी सवारी साधनलाई यात्रा बोक्न दिएमा ट्याक्सीमा मिटर चलाउन नसक्ने बताउँदै आएको छ ।

  • १८ मंसिर २०८०, सोमबार २०:१२ प्रकाशित