एनसेल खरिदबिक्रीको विषयमा प्रधानमन्त्रीले दिए छानविन गर्न निर्देशन

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्रीका विषयले नेपालको राजनीति यतिबेला तातेको छ । कम्पनीमा रहेको मलेसियाली आजियटा समूहको सेयर किनबेचमा पूर्वप्रधानमन्त्रीदेखि सांसदहरुसम्मले अपारदर्शी भन्दै प्रश्न उठाएका छन् । कम्पनीमा आजियटाको ८० प्रतिशत सेयर रहेकामा केही दिनअघि मात्रै बिक्री गरेको उक्त ग्रुपले जनाएसंगै अपारदर्शीढंगले खरिदबिक्री भएको भन्दै प्रश्न उठाइएका हुन् ।

राजनीतिक वृत्त र चौतर्फी यस विषयमा प्रश्न उठाइएपछि प्रधानमन्त्री प्रचण्डले एनसेल खरिदबिक्रीका विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयकाअनुसार राजश्व विभाग लगायतका निकायलाई सोमबार छानबिन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन् । ‘एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्‍त्री पुष्पकमल दाहालले गम्भीर चासो व्यक्त गर्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’

  • १८ मंसिर २०८०, सोमबार १९:२५ प्रकाशित