नारायणगढ–मुग्लिन सडक : डाँडा भत्काउन विस्फोटको तयारी

केन्द्रभाग मिडिया

File photo

चितवन।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउनका लागि डाँडा भत्काउनुपर्ने भएकाले विस्फोट गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ। कृष्ण आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि विस्फोट गर्न लागिएको हो । पुलको मुग्लिनतर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरका लागि लाई विस्फोट गर्न लागिएको छ ।

यसअघि गएको हिउँदमा सडक रोकेर दुई वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको छ ।

प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमै विस्फोट गर्ने गृहकार्य गरिए पनि काममा ढिलाइ भएको थियो । उनका अनुसार ढिस्को भत्काउनका लागि विस्फोटक पदार्थ ल्याउन अनुमति पाइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय र पुनः गृहमन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको सूचना अधिकारी आचार्यको भनाइ थियो । यससँगै विस्फोटक पदार्थ ल्याएर राख्न नेपाली सेनासँग रहेको बङ्कर मर्मत गर्ने तयारी गरिएको छ । दश टन विस्फोटक पदार्थ झिकाउन लागिएको उनले जानकारी दिए ।

दुई महिनाभित्रमा विस्फोटक पदार्थ झिकाएर अर्को दुई महिनामा विस्फोट गरी डाँडा भत्काउने तयारी छ ।

खहरे खोलाको पुल मुआब्जाका कारण रोकिएको थियो । मुआब्जा दिई ठाउँ खाली गरेर काम थालेसँगै निर्माणको काम ५० प्रतिशत सकिएको छ । बाँकी नौ वटा पुलमध्ये एउटाको भित्तो भत्काउनुपर्ने भएकाले काम थालिएको छैन भने बाँकी आठ वटाको काम दुई महिनाभित्रमा सम्पन्न हुनेछ ।

  • १७ मंसिर २०८०, आईतवार १६:१२ प्रकाशित