पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मर्दी, खुमैं र कोर्चाङमा पुग्ने पदयात्रीबाट एक महिनामै १२ लाख रुपैयाँ प्रवेश शुल्क उठेको छ । गाउँपालिकाले कात्तिक १७ गतेबाट स्वदेशी तथा विदेशीबाट प्रवेश शुल्क उठाउन सुरु गरेको थियो ।
गाउँ कार्यपालिका सदस्य राम गुरुङका अनुसार मंसिर १ गते मर्दी र खुमैं दुवैमा सर्वाधिक पदयात्री पुगेका थिए । उनले मर्दीमा त्यस दिन ५६० जना स्वदेशी र ३९ जना विदेशी पदयात्री पुगेको जानकारी दिए ।
माछापुच्छ्रे मोडल ट्रेलका लागि मर्दी हिमाल हुमाल (लोक्याम्प)मा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा गाउँपालिकाले शुल्क उठाउन थालेको छ । पदयात्रीबाट प्रवेश शुल्क उठाउन थालेपछि आधिकारिक संख्या र विवरण प्राप्त गर्न पनि सहज भएको गुरुङको दाबी छ ।
पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीसँग ५ सय र नेपाली पदयात्रीसँग १ सय रुपैयाँ प्रवेश शुल्क उठाउने गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको माछापुच्छ्रे मोडल ट्रेल (मर्दी हिमाल पदमार्ग), ग्रेट माछापुच्छ्रे ट्रेल (खुमैं–कोर्चाङ पदमार्ग) र तारा–हिलटप पदमार्ग पछिल्लो समय पदयात्रीको रोजाइमा पर्दै आएको छ ।
कार्यपालिका सदस्य गुरुङका अनुसार चेकपोस्टमा उठाइएको प्रवेश शुल्क प्रत्येक १५-१५ दिनमा पालिकामा जम्मा गर्नुपर्ने नियम छ । गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । प्रवेश शुल्क उठान गाउँसभाबाट आर्थिक ऐन २०८० पारित गरिएको छ । मर्दी हिमालमा वर्षमा करिब ३५ हजार पदयात्री पुग्ने गरेको गाउँपालिकाको अनुमान छ । त्यसमध्ये मर्दी पुग्ने विदेशी पदयात्रीको संख्या अनुमानित ७ हजार छ ।
संकलित रकमबाट ठाउँठाउँमा फोहोर संकलन गर्ने डस्टबिन, पर्यटक सूचना केन्द्र र पर्यटक प्रहरीको व्यवस्थापन गर्ने गाउँपालिकाको योजना छ ।