भारतको विधानसभा निर्वाचन : चारमध्ये तीन राज्यमा भाजपा अगाडि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतमा विधानसभा निर्वाचन अन्तर्गत आइतबार बिहानदेखि चार राज्यको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार तीन राज्यमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत सिटमा अग्रता बनाएको छ ।

मध्यप्रदेश, राजस्थान, तेलंगाना र छत्तीसगढ राज्यको विधानसभा निर्वाचन अन्तर्गत जारी मतगणनामा भाजपाले तेलंगानाबाहेक तीन वटै राज्यमा बहुमत सिटमा अग्रता बनाएको हो । यद्यपि, मतगणनाको अन्तिम परिणाम आउन बाँकी नै छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार मध्यप्रदेशमा भाजपा एकल बहुमततर्फ अग्रसर देखिन्छ । २३० सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा ११६ सांसद आवश्यक पर्दछ । तर भाजपाले १६४ सिटमा अग्रता बनाएको छ । यस्तै, कांग्रेस आईले ६३ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् ।

मध्य प्रदेशमा अघिल्लो विधानसभा निर्वाचनमा भाजपा १०९ सिटमा सीमित थियो भने कांग्रेस आईले ११४ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए ।

राजस्थानमा जारी मतगणना अनुसार भाजपाले ११३ सिटमा अग्रता लिँदा कांग्रेस आई ६९ सिटमा अग्रता कायम गर्न सफल भएको छ । अन्य दलले १७ सिटमा अग्रता बनाएका छन् ।

छ्रत्तीसगढमा समेत भाजपाले बहुमत सिटमा अग्रता बनाएको छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ९० सिट रहेको छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपाले ५३ सिटमा अग्रता लिँदा कांग्रेस आईले ३४ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् ।

  • १७ मंसिर २०८०, आईतवार १५:११ प्रकाशित