आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गगता दिवस

अपाङ्गता अधिकारसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज ३२ औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइदैछ । यो वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ ।

बत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताए ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । राष्ट्रपति पौडेलले दिवसका सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको प्रवर्द्धन, मर्यादा र सामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गरे ।

“यस वर्षका अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसङ्घको प्रतिबद्धतालाई बलियो बनाएको छ”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् । उनले यो ऐक्यबद्धता र प्रतिबद्धतालाई आत्मसात् गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

  • १७ मंसिर २०८०, आईतवार ०८:५० प्रकाशित