कांग्रेस गण्डकीको भेला ३ र ४ पुसमा

पाँच प्रदेशको सम्मेलनको मिति तोकियो, दुई प्रदेशको मिति तोक्न बाँकी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । सम्मेलन पोखरा सभागृहमा हुने र ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार कांग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठकले सम्मेलनको मिति तय गरेको हो ।

बैठकले सम्मेलनलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कार्यसमिति सदस्य एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी लगायतको उपस्थिति थियो ।

बैठकमा पार्टी सभापति शुक्रराज शर्माले पार्टीका जिम्मेवार व्यक्तिले गर्ने र भन्ने कुरा एकरुपता हुनुपर्ने बताउँदै त्यसले मात्रै पार्टी संगठनलाई बलियो बनाउने बताए । राष्टियता, प्रजातन्त्र, समाजवाद, धार्मिक स्वतन्त्रता, शान्ति एवम् सुशासन जस्ता पार्टीको विरासदको संरक्षण गर्दै पार्टीलाई थप बलियो बनाउन गण्डकी प्रदेशको अभियानमा एकतावद्ध रुपमा लाग्न उनले सबैमा अनुरोध गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गरेका उपलब्धिलाई पार्टी पंक्तिबाट जनमानसमा पु¥याउन नसकिएको गुनासो गरे ।

बैठकमा पार्टी पदाधिकारी तथा सदस्यहरूले पार्टी संगठनको सुदृढीकरण लगायतका विषयमा आ अआफ्ना धारणा राखेका प्रचार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको हो । कांग्रेस स्रोतका अनुसार पार्टीको मधेश प्रदेश सम्मेलन ५ र ६ पुसमा, बागमतीको ७ पुस, कोशीको ९ पुसमा र लुम्बिनीको १६ र १७ मंसिरका लागि तय भएको छ । कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो लागेको छैन ।

  • १४ मंसिर २०८०, बिहीबार १८:०२ प्रकाशित