पोखरा ।
पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन नजिकिँदै गर्दा मेला सम्पन्न पार्न गठित विभिन्न उपसमितिहरुको सक्रियता बढेको छ ।
आयोजक पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यका अनुसार मंसिर २१ देखि पुस १ गतेसम्म आयोजना हुने मेला सम्पन्न गर्न गठित विभिन्न समितिहरुले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाइरहेका छन् ।
‘लगानीको समर्वद्धन : उद्योग व्यवसायको प्रर्वद्धन भन्ने नाराका साथ आयोजित मेलालाई पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेका छन् ।
महासचिवका आचार्यका अनुसार बुधबार उनी नै संयोजक रहेको प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न भएको छ भने यसअघि कार्यसमिति सदस्य प्रेमप्रसाद सुवेदी संयोजक रहेको संघ–संस्था समन्वय उपसमिति,कार्यसमिति सदस्य प्रभा सुवेदी संयोजक रहेको महिला परिचालन तथा प्रभातफेरी व्यवस्थापन उपसमिति,वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य संयोजक रहेको स्टल व्यवस्थापन समितिको पनि बैठक सम्पन्न भएको छ ।
ती बैठकहरुले मेलालाई व्यवस्थित गर्दै उद्यमशीलता विकासको लागि सक्दो प्रयास गर्ने निर्णय भएको छ । मेलाको मंसिर २१ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मेलाको तयारी करिब ८० प्रतिशत सकिएको र स्टल बुकिङ पनि सोही हाराहारीमा भइसकेको पनि उनले बताए ।














