‘२५ औं सडक महोत्सव’ पौष १२ देखि १६ गतेसम्म

बालबालिकाहरुका लागि चित्रकला र मःम, ससेज खाने प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा ।

यस वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा पौष १२ गते देखि २५ औं सडक महोत्सव हुने भएको छ ।

पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सव पौष १६ गतेसम्म सञ्चालन हुने आज(आइतबार) पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

हरेक वर्षको अङ्गग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवान पोखराले ‘सडकमै खाउँ, सडकमै रमाउ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्दै आइरहेको छ ।

सडक महोत्सव लेकसाइड क्षेत्रको ३ कि.मि क्षेत्रमा आयोजना हुने महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिएको छ । ५ दिनसम्म चल्ने महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुदैं जरेवर लेकसाइडसम्म हुने संयोजक पौडेलले बताए ।

महोत्सवको रजतजयन्ती भएकाले यसपाली सडक महोत्सवलाई विगतका वर्षहरुमा भन्दा धुमधामसहित विशेष रुपमा सञ्चालन गरिने आयोजकले बताएको छ ।

महोत्सवमा मुख्य आर्कषणको रुपमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुष प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन हुने आयोजकले बताएको छ ।

यस्तै महोत्सव अवधिभर रातीको समयमा राष्ट्रिय तथा लोकल ब्यान्डको कन्सर्ट हुनेछ । बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ महोत्सवको आर्कषणको रुपमा रहने छ ।

यस्तै पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने, वालवालिकाहरुका लागि चित्रकला, मःम, ससेज खाने प्रतियोगिता गरिने भएको छ ।

कुक, वार मेन प्रतियोगिता र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशनका साथै पर्यटकीय गन्त्व्यको प्रर्वद्धन गरिने आयोजकले बताएको छ ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रअरी प्रालिको टुवोर्ग वियर र द नेपाल डिष्ट्रीलरी प्रालिको नुड भुड्का रहेको छ भने प्रायोजकमा खुकुरी रम रहेको छ ।

प्रर्वद्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका , गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् । सभ्य र भव्य रुपमा महोत्सव सम्पन्न गर्नका लागि आयोजकले तयारी थालेको छ ।

  • १० मंसिर २०८०, आईतवार १५:३० प्रकाशित