गलेश्वर ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालिएको छ ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो ।
बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रविधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोड (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिए । ‘प्राइमकोर्ड बिछ्याएको २४ घण्टापछि चिप्ससहित पहिलो चरणको कोड बिछ्याइन्छ’, उनले भने, ‘दोस्रो चरणमा सेकेण्ड कोड बिछ्याएपछि डिबिएसडी पिच पूरा हुन्छ ।’
दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याटरपिएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीसहित उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए ।
सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र थालिएको हो ।














