भारतले दिएका ७ मुर्रा राँगा पोखरा ल्याइयो, पुसबाट वीर्य उत्पादन

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणको क्रममा नेपाललाई उपहारमा प्राप्त १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति १० बजे ती राँगा ल्याइएको पशु प्रजनन् केन्द्र पोखराका प्रमुख डा. जगदिश पाण्डेले जानकारी दिए ।

उनका अनुसार पोखरा ल्याइएका राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने छ र त्यसपछि मात्र वीर्य उत्पादन सिकाइ सुरू हुनेछ । राँगाबाट आगामी पुसदेखि वीर्य सङ्कलन सुरू गरिने उनले बताए । नेपालमा ल्याइएका राँगा भारतको केन्द्रीय अनुसन्धान केन्द्रमा पुगेरै नेपाली विज्ञले छानेर ल्याएको उनले जानकारी दिए । डा. पाण्डेका अनुसार भारतमा एक बेतमा तीन हजार देखि चार हजार ५ सय लिटरसम्म दूध दिने माउबाट जन्मिएर हुर्किका राँगा नेपाल ल्याइएको हो ।

एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको उनले बताए । भैंसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख डा. पाण्डेको भनाई छ । ‘नेपालमा यस अगाडि पनि मुर्रा राँगा र भैंसी नल्याइएका होइनन् । कुनै निकायबाट प्रमाणित नगरी विभिन्नढंगले ल्याएका ती राँगा, भैंसी मुर्रा थिए थिएनन् भन्ने थाहा हुन्थेन ’ उनले भने, ‘यो पहिलो पटक नेपाली विज्ञ टोली नै पुगेर व्याच नम्बर हेरेर सबै हिसाबले प्रमाणित मुर्रा राँगा औपचारिक रुपमा पहिलो पटक नेपाल ल्याएको हो ।’

उच्च नश्लका मुर्रा भैंसीले रैथाने भैंसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैंसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो । राष्ट्रिय पशु प्रजनन् विभागका अनुसार पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा, लहानमा ५ वटा र बाँकेको खजुरास्थित गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ३ वटा राँगा राखिएको हो ।

  • ९ मंसिर २०८०, शनिबार १८:१९ प्रकाशित