पोखरा ।
संविधान र कानूनमा उल्लेखित सेवा सुविधा सहज रुपमा उपलब्ध गराउनका लागि जेष्ठ नागरिकले सरकार र सरकारका विभिन्न निकायमा दबाब दिएका छन् । यस अगाडि जिल्ला प्रशासन कार्यालय कास्की र गण्डकी प्रदेश सरकारलाई अधिकार प्राप्तिको विषयमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको जेष्ठ नागरिक समाज नेपाल गण्डकी प्रदेशले शुक्रबार पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाएको छ ।
व्यवहारिक रुपमा अधिकार प्राप्तिका लागि महानगरकाबाट कार्यान्वयन गर्ने र नेपाल सरकार र त्यस अन्तर्गतका निकायहरुमा पहल गरिदिन आफूहरु ज्ञापनपत्रसहितको ध्यानाकर्षण गराएको जेष्ठ नागरिक समाज गण्डकीका अध्यक्ष ध्रुवराज अधिकारीले जानकारी दिए । जेष्ठ नागरिकहरुलाई औषध उपचार तथा सार्वजनिक यातायातमा राज्यले व्यवस्था गरे अनुरुपको छुट पाउनुपर्ने लगायतका १० बुँद्दे ज्ञापन पत्र जेष्ठ नागरिक समाजले अगाडि सारेको छ । यातायात र औषधोपचारमा परिचय पत्रका आधारमा ५० प्रतिशत छुट दिइनुपर्ने, सरकारी अस्पतालमा टिकट लिने देखि डाक्टरले गर्ने परीक्षण, ल्याव, स्क्यान र आषधी लिने कक्षसम्म लाइन बस्न नपर्ने व्यवस्था गर्ने लगायतका माग मञ्चले अगाडि सारेको छ ।
आफूहरुले नेपालको संविधान र त्यस अनुरुप बनेका कानूनमा भएको व्यवस्था अनुरुप नै माग राखेको अध्यक्ष अधिकारीले बताए । उनले अनुनमा व्यवस्था गरिएपनि जेष्ठ नागरिकले अहिले पनि सार्वजनिक सवारी साधन र अस्पतालहरुमा अधिकार माग्दा दुरव्र्यवहार भोग्नु परेको पीडा सुनाए ।
हेल्लो मेयर कक्षमा जेष्ठ नागरिक समाजको ज्ञापन पत्र बुझ्दैै महानगरका प्रमुख धनराज आचार्यले महानगरले जेष्ठ नागरिकका समस्या सुनेको र आफ्नो तर्फबाट प्रवाह हुने सेवा सुविधामा जेष्ठ नागरिक प्राथमिकतामा पर्ने बताए ।
जेष्ठ नागरिकको अनुभव र सिपलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने र उनीहरुलाई सम्मानित महसुस गराउनु नै अहिलेको महत्वपूर्ण विषय भएको भन्दै उनले महानगरले जेष्ठ नागरिकका अधिकार व्यवहारिकरुपमा प्राप्तिका लागि केन्द्र सरकार, प्रदेश सरकार र सरकारका निकायहरुसंग सहकार्य गर्ने आस्वासन दिए ।