युवा संघलाई ओलीको निर्देशन : प्रतिक्रियावादीहरुले कहाँ भेट्ने भन्छन् सोही ठाउँमा भिड्न तयार रहनुस’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुसँग भिड्न तयार रहन युवा संघलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले बिहीबार युवासंघले गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध गरेको प्रतिकारको सरहना गर्दै प्रतिक्रियावादीहरुले कहाँ भेट्ने भन्छन् सोही ठाउँमा भिडन्तका लागि तयार रहनुपर्ने बताएका हुन् ।

‘जतिसुकै बेला परिवर्तनका लागि विशाल आन्दोलन गर्नुपर्ने हुनसक्दछ । त्यसका लागि युवासंघ तयार हुनुपर्छ’, उनले भने, ‘त्यसकारण युवासंघ र युथफोर्सले आफूलाई तयार राख्नुपर्छ । रुन्चे कुरा गर्नुहुँदैन । बक्सिङ खेल्ने भनेको थियो खुट्टाले राउन्ड किक हानेर बंगारा झारिदियो भन्ने होइन । ठाउँ तोकेर, समय तोकेर युवासंघ तयार छ भिड्नलाई ।’

अध्यक्ष ओलीले राजतन्त्र काम लाग्दैन भनेर नै नेपाली जनताले फालेको बताएका छन् ।शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले १७ वर्षअघि नै फालेकाले त्यो पुन फर्किन्छ भनेर मुर्खहरुले मात्रै भन्दै आएको बताएका हुन् ।

यो देशमा २० सम्म एउटा बाटो नबन्नुको कारण के भनेर प्रश्न गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले २४० वर्ष राजतन्त्र हुँदा विकास हुनै नसक्नुको कारण खोज्नुपर्ने बताए ।

ओलीले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नेहरुमा चेतना नभएको भन्दै राजतन्त्र भन्नेहरु मूर्ख भएको टिप्पणी गरे । राजाहरुभन्दा राणाहरुले बरु दास प्रथा उन्मुलन गरेको भन्दै उनले मरेका प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिसहरु लागेको बताए ।

  • ८ मंसिर २०८०, शुक्रबार १५:३९ प्रकाशित