नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ ९एनएसएल० को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । उद्घाटन खेल साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलामबिच खेलाइनेछ । उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ ।

क्लब स्तरीय यो फुटबल प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँ रेजर्स नेपाल सुपर लिगको पहिलो संस्करणको विजेता टोली हो । पहिलो संस्करणको फाइनलमा काठमाडौँ रेजर्सले धनगढी एफसीलाई हराउँदै उपाधि चुमेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा सातवटा टोलीले मात्र सहभागिता जनाएका थिए ।

प्रतियोगिताको दोस्रो संस्करणमा भने देशभरका नौवटा फ्रेन्चाइज क्लबको सहभागिता रहने छ । नेपाल सुपर लिगको दोस्रो संस्करणमा कर्णालीबाहेक सबै प्रदेशका क्लबहरूको प्रतिनिधित्व रहेको छ । बागमती प्रदेशबाट काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र एफसी चितवन गरी तीनवटा क्लबले सहभागिता जनाउँदै छन् ।

यसैगरी दोस्रो संस्करणमा गण्डकी प्रदेशबाट पोखरा थन्डर्सलेसहभागिता जनाउने छ । लुम्बिनी प्रदेशको बुटवल लुम्बिनी एफसीले प्रतियोगितामा भाग लिएको छ । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व धनगढी एफसीले गर्दैछ ।

कोशी प्रदेशबाट भने झापा एफसी र स्पोर्टिङ इलाम डी मेची एफसीले प्रतियोगितामा सहभागिता जनाउँदै छन् । यसका अतिरिक्त प्रतियोगिताकोदोस्रो संस्करणमा मधेस प्रदेशको प्रतिनिधित्व विरगञ्ज युनाइटेड एफसीले गर्नेछ ।

दोस्रो संस्करणमा तीनवटा नयाँ क्लब थपिएका छन् । झापा एफसी, स्पोर्टिङ इलाम डी मेची एफसी र विरगञ्ज युनाइटेड एफसीले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेका हुन् ।

  • ८ मंसिर २०८०, शुक्रबार ०९:०८ प्रकाशित