भोलि हुने दुर्गा प्रसाई नेतृत्व र युवा संघको प्रर्दशनमा ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी

ड्रोनबाट निगरानी हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बल्खु र तीनकुनेमा भोलि (बुधबार) हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ ।
नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ

प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् ।प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् ।

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ ।

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

  • ६ मंसिर २०८०, बुधबार १६:२६ प्रकाशित