कृषिमा आत्मनिर्भर हुन लगानी बढाऔं : जिसस कास्की प्रमुख पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषिमा आत्मनिर्भर हुनको लागि लगानी बढाउनुपर्ने बताएका छन् । पौडेलले कृषिको व्यवसायीकिकरण र उत्पादनमा गण्डकीलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा लगानी बढाउनुपर्ने बताएका हुन्।

कृषिको यान्त्रिकिकरण सहितको आधुनिक प्रविधिलाई थप प्रभावकारी कार्यक्रम सहित पुनः संरचनाको जरुरी रहेको हुँदा स्थानीय तह सहित प्रदेश सरकार र संघ सरकारले अधिक बजेट कृषि क्षेत्रका लागि छुट्टाउनुपर्ने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ कास्कीको आयोजनामा सञ्चालित आर्थिक बर्ष २०८०/८१ को गण्डकी प्रदेशस्तरीय पहिलो त्रैमासिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख पौडेलले सो बताएका हुन् ।

कृषिको बजेट बर्षेनी घट्नु दुस्खद भएको भन्दै व्यवसायिक कृषि विकासको विषयलाइ विशेष प्राथमिकता दिनुपर्ने उनको जोड छ। पौडेलले कृषि पेशा प्रती आकर्षण बढ्ने नीति कार्यक्रम तय गर्न र अनुदानमुलक कार्यक्रम प्रभावकारी बनाउनु पर्ने भन्दै श्रमप्रतिको सम्मान जगाउने गरि काम गर्न आग्रह गरे ।

सरकारी कार्यालयहरूले आफ्ना कार्यक्रम प्रभावकारी बनाउन योजना र कार्यतालिका निर्माण गर्न आग्रह गरे । कुनै दबाब र रबाफको प्रभावमा नपरी जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी सबै सरोकारवालाहरूले काम गरे मात्रै हामीले चाहेको विकास र समृद्धिको सपना सार्थक हुने उनको भनाइ छ ।

समिक्षा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ अन्तर्गत गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख तथा प्रतिनिधिले आफ्नो त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यमान समस्या र निराकरण सम्बन्धमा जानकारी गराए ।

कार्यक्रममा कृषि निर्देशनालय गण्डकीका निर्देशक बासुदेव रेग्मी ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल , मन्त्रालयको तर्फबाट माधब पौडेल ,तरकारी सुपर जोन संचालक समन्वय समिति संयोजक कृष्ण प्रसाद तिवारी ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख रोशन अधिकारी , सोही कार्यालयका बागबानी विज्ञ मनोज ढकाल , सामाजिक विकास विज्ञ गोबिन्द श्रेष्ठ लगायतले प्रस्तुत समिक्षा उपर टिप्पणी प्रस्तुत गरेका थिए।

  • ६ मंसिर २०८०, बुधबार १५:१९ प्रकाशित