मंसिर ७ को कार्यक्रम व्यवस्थापनमा दुर्गा प्रसाईंका ८६ जना संयोजक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघले एकै दिन प्रदर्शनको कार्यक्रम गर्दै छन् ।

जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँगको समन्वयमा दुर्गा प्रसाईं बल्खुमा कार्यक्रम गर्न सहमत भएका छन् ।

युवा संघ तीनकुनेमा कार्यक्रम गर्न राजी भएसँगै सम्भावित ‘मुठभेट’ टरेको सुरक्षा अधिकारीहरू बताउँछन् । प्रसाईंले लघुवित्त र सहकारी पीडितहरूको साथ लिएर प्रदर्शन गर्दै छन् । विभिन्न २८ वटा समूह र संस्थाहरूले दुर्गा प्रसाईंको कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

प्रसाईंले कार्यक्रम व्यवस्थापन गर्न ८६ जना संयोजक तोकेका छन् । यातायात व्यवस्थापन र सर्वसाधारणलाई काठमाडौँमा उतार्ने गरी फरक जिम्मेवारी सहितका संयोजक तोकिएका हुन् ।

गृह प्रशासनले प्रसाईंले गर्न लागेको प्रदर्शनलाई सूक्ष्म ढंगले निगरानी गरिरहेको छ । उपत्यका बाहिरबाट प्रसाईंले ५ हजार मानिस काठमाडौँमा लैजाने गृह प्रशासनको आकलन छ । तर, दुर्गा प्रसाईंले विदेशमा रहेका नेपालीहरू मध्येबाट मात्रै करिब २७ हजारले आफ्नो प्रदर्शनमा सहभागी जनाउन लागेको दाबी गरे ।

  • ५ मंसिर २०८०, मंगलवार १६:३८ प्रकाशित