अपडेट : चिसोबाट ज्यान गुमाउने भुकम्प प्रभावितको संख्या १० पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चिसोका कारण भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ज्यान गुमाउने भुकम्प प्रभावितको संख्या १० पुगेको छ । चिसोको कारण भुकम्प प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भूकम्पपीडितहरू चिसोबाट उत्पन्न हुने रोगको सिकार हुन थालेको बताए ।

भूकम्पपछि त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घ रोगी र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । मेयर घर्तीले पछिल्लो एक साताको अवधिमा १० जनाको ज्यान गएको बताएका छन् ।

भूकम्पपछि चिसोका कारण मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालीका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट–६ ताँसीका ५५ वर्षीय वीर कहादुर विक, जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरीनगरपालीका वडा नं ४ तल्याउनका केशव भडेल छन् । मृत्यु हुने अधिकांश दीर्घ रोगी रहेका छन् ।

जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवार कात्तिक १७ को भूकम्पपछि त्रिपालमुनि बस्न बाध्य छन् ।

  • ४ मंसिर २०८०, सोमबार १४:४५ प्रकाशित