बेपत्ता विपिन जोशी गाजामा सकुशल फेला परेको सूचना पाएका छौं : परराष्ट्र मन्त्रालय

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार विपिन गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो ।

प्रवक्ता लम्सालले भनेकी छिन् , ‘विपिन जोशी सकुशल रहेको गुड न्युज प्राप्त भएको छ, हामी विपिनसँग प्रत्यक्ष कुराकानी गरेर थप भेरिफाइ गर्ने प्रयासमा छौं ।’ जोशी अस्पतालमा रहेको भनिए पनि उनको अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइनसकेको प्रवक्ता लम्सालले बताइन् ।

परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपकराज जोशीले पनि विपिन गाजा क्षेत्रमा सकुशल फेला परेको जानकारी भरपर्दो स्रोतबाट प्राप्त भएको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।

  • ४ मंसिर २०८०, सोमबार ०९:०३ प्रकाशित