नेपालमा टिकटक बन्द गर्नुपर्ने वास्तविक कारण दिन टिकटक कम्पनीको अनुरोध

केन्द्रभाग मिडिया

काठमाडौँ ।

टिकटक कम्पनीले नेपालमा टिकटक बन्द गर्नुपर्ने वास्तविक कारण दिन अनुरोध गरेको छ ।

टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदा वास्तविक कारण दिन आग्रह गरेको हो । टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्।

पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेलगत्तै त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो।

सोमबार प्राधिकरणलाई सो कम्पनीले जवाफ फर्काएको हो । जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गरेको छ ।

पत्रमा भनिएको छ, ‘नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं। ’

यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेको बताउँदै सो कम्पनीले लेखेको पत्रमा उक्त प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरिएको दाबी गरेको छ ।

पत्रमा टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ ।

पत्रमा नेपाल सरकारले यसरी प्रतिबन्ध लगाउनुभन्दा सहयोग गरेमा सुरक्षाको लक्ष्य हासिल गर्न सहज हुने समेत बताइएको छ । विज्ञप्तिमा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँग भएका सहकार्यविपरित रहेको समेत बताइएको छ ।

कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

  • १ मंसिर २०८०, शुक्रबार ०९:५० प्रकाशित