काठमाडौँ । नेपालीको दोस्रो महान चाड तिहारसँगै छठ पर्वको तयारी भइरहेको छ । छठको लागि देशका नदी तथा पोखरीहरु सजाउन थालिएको छ । विशेष गरि छठ पर्व तराई भेगमा मनाउने गरिन्छ । पछिल्लो समय देशको पहाडी भेगमा पनि छठ पर्व मनाउन थालिएको छ ।
काठमाडौँको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ ।
छठ पर्वको मुख्य दिन भोलि ९शुक्रबार० छठी माईको पूजाका लागि काठमाडौँको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।
काठमाडौँको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिवारसम्म सबै काम सकिने बताए । उनले हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए ।
त्यस्तै गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए । उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिबारसम्म सकिने बताए ।














