चार वर्ष पछि खुल्यो कोरला नाका

केन्द्रभाग मिडिया

पोखरा ।

चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आजदेखि(सोमबारदेखी) खुलेको छ ।

कोरला नाका २०७६ चैतदेखि बन्द रहेको थियो। नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकहरू हर्षित भएका छन् । उनीहरू सोमबार नै सरकारले वितरण गरेको सीमा पार पास देखाएर चीनतर्फ गएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले १ हजार हाराहारी सीमा पार पास वितरण गरेको छ । केही पास अझै वितरणको चरणमा रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

२०७६ अघि वर्षमा २ पटक कोरला नाका नजिकै मेला लाग्ने गर्थ्यो । त्यही मेलामा खरिद गरिएका सामान बेचेर मुस्ताङीले दैनिकी चलाउँथे । तर कोरोना सङ्क्रमणलाई देखाएर नाका र मेला दुवै बन्द भएपछि स्थानीयहरू चिन्तित थिए ।

पटक पटक नाका खोल्न सरकारसँग उनीहरूको आग्रह थियो । नाका खुलेसँगै पूर्ववत् मेला सञ्चालन हुने विश्वास मुस्ताङीको छ ।

यो नाकाबाट खासगरी पीठो, खुर्सानी, बिजुलीका सामान, पेय पदार्थ लगायतको कारोबार हुन्छ । चाडबाडको समयमा भेडा च्याङ्ग्रा पनि आयात निर्यात गरिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमति भएको थियो । सोहीअनुसार नाका जोडिएका पालिकाका नागरिकलाई पास वितरण गरिएको हो । लगत्तै प्रचण्डले कोरला नाकाको निरीक्षण पनि गरे ।

कोभिडपछि कुनै पनि सामान आयात निर्यात नभएको नेचुङ भन्सारमा कार्यरत टसी न्हुर्वु गुरुङले जानकारी दिए । ‘सामानको आयात निर्यात नहुँदा राजश्व सङ्कलन शून्य भएको उनले बताए । सामान्य समयमा वर्षेनी १५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने गुरुङले जानकारी दिए

  • २७ कार्तिक २०८०, सोमबार १६:३२ प्रकाशित