लक्ष्मीपूजाको दिन आगलागी : मोरङमा ४ प्रहरीसहित २८ जना घाइते

केन्द्रभाग मिडिया

symbolic picture

काठमाडौं ।

लक्ष्मी पूजाका दिन मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति भएको छ ।

मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ ।आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इनरुवामा पटाका पड्काउँदा घर जल्यो

गएराति सुनसरी सदरमुकाम इनरुवा-१ को मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।

संखुवासभामा दियोबाट सल्कियो आगो

यसैगरी संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका-१ हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ ।

संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले दिएको जानकारी आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएका थिए ।

  • २७ कार्तिक २०८०, सोमबार १०:२१ प्रकाशित