काठमाडौँ ।
राष्ट्रिय फुटबल टोली सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)प्रस्थान गरेको छ । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट खेल हो ।
राष्ट्रिय टोलीका दुई प्रभावशाली खेलाडी रोहित चन्द र मनिष डाँगी भने सिधै दुबईमा टोलीमा सहभागी हुने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ । पछिल्लो समय रोहित इन्डोनेसिया र मनीष बहराइनमा व्यवसायिक फुटबल खेल्छन् ।
नेपाली टोलीले कात्तिक ३० गते युएईसँग दुबईमा ‘अवे’ खेल खेल्दैछ । त्यसपछि नेपालले घरेलु मैदानमा यूएईसँग दोस्रो लेग खेल खेल्नेछ । डिफेन्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र स्ट्राइकर राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
राष्ट्रिय टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङ भने यूएई भ्रमणमा सहभागी छैनन् । अभ्यासका क्रममा उनको घुँडामा गम्भीर चोट लागेको थियो । यूएई प्रस्थान गरेको टोलीमा गोलरक्षकको भूमिकामा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् ।
डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन् । मिडफिल्डरमा कृतिशरत्न छुन्जु, मनिष डाँगी, लाकेन लिम्बु, उत्सव राई, सेहाङ आङ्देम्बे र निशान हमाल रहेका छन् ।
यसैगरी स्ट्राइकरमा अन्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, संजीव विष्ट र राजेश परियार रहेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय टोलीले लामो समय प्रतियोगिताका लागि तयारी गरेको थियो ।
दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ९यूएई०सँग खेल्न लागेको हो । त्यसपछि नेपालले यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।
नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने कार्यक्रम छ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ ।