प्रचण्डको उद्घोषण :‘अब हामी नयाँ चरणको क्रान्तिको गर्छौ’

केन्द्रभाग मिडिया

रोल्पा ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतिक भएको बताएका छन् । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

जनयुद्धको तयारीका लागि ४० वर्षअघि पहिलो पटक थवाङ आएको स्मरण गर्दै उनले अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताए ।

‘६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहि आधार बनाएर गरिएको थियो’, त्यतिबेलाको अवस्था स्मरण गर्दै उनले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं।’ थवाङलाई देशले मात्रै नभइ विश्वले दाबी गरे ।

क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने भन्दै उनले यो कहिल्यै अघि बढ्ने, कहिले एक कदम पछाडि हट्ने बताए । आगामी विशेष महाधिवेशनमा पार्टीले समाजवादको बाटो थप स्पष्ट पर्ने, विचारको विकास र संश्लेषण गरी समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार निर्माण गर्ने उनले बताए । आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व भन्दै उनले समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे ।

उनले शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएकाले कमजोर भएको भन्दै अहिले क्रमशः एकताको आधार तयार हुँदैछ गएको जिकिर गरे ।

सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको दोहोर्याए ।

  • २४ कार्तिक २०८०, शुक्रबार १४:४० प्रकाशित