तनहुँ ।
१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो ।
डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ नदी फर्काउने कामको सुरुवात गरे । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक ९ऊर्जा० प्रियन्था विजयतुङ्गा समेत सहभागी थिए ।
अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध ९कफर ड्याम० निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्पूर्ण कोशेढुङ्गा र फड्को भएको बताए ।
विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भएतापनि अहिले नमुना आयोजनाको रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताका साथ काम भइरहेको बताए । आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्त्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिए । उनले निर्माणमा आइपर्ने स्थानीय समस्याहरूलाई संयुक्त रुपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाए । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निहीत स्वार्थका व्यक्तिहरुबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनु पर्ने बताए ।