काठमाडौँ ।
आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर यो निर्णय लिएको हो ।
खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।
यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ए अन्तरगत भएको रोमाञ्चक खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । आजको खेलमा नेपालसँग उक्त हारको बदला लिने अवसर रहेको छ ।
दुई टोलीबिच भएका ५ खेलमा नेपालले ३ तथा ओमानले २ खेल जितेको छ । तर, ओमान पछिल्लो समय राम्रो लयमा देखिएको छ । टोली पछिल्ला ५ खेलमा अपराजित रहेको छ । नेपालले भने पछिल्ला ५ मध्ये ३ खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ ।