पोखरा ।
पोखरा महानगरपालिकाको एक टोली राहत र उद्दारको सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ । वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्दारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । दुई वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्दार टोली त्यसतर्फ प्रस्थान गरेको पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ ।
पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी १३ लाख १५ हजार रुपैयाँ र अन्य जनप्रतिनिधि एवं कर्मचारीहरुको स्वछिक सहयोग र नपुग रकम महानगरपालिकाको बिपद् कोष बाट खर्च बेहोरिने मेयर आचार्यले जानकारी दिए । सबैगरेर ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने उनले बताए ।