बाँके ।
सर्वोच्चको आदेशसँगै फेरि पक्राउ परेका रिगल भनिने योगराज ढकाल कारागार चलान भएका भएका छन् ।
बाँके जिल्ला अदालतले रिगललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको हो । रिगललाई सर्वोच्च अदालतले आदेश अनुसार उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनीधि वाग्लेले जानकारी दिएका छन् ।
बाँके प्रहरीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको जानकारी दिए ।
बिहीबार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर आज ११ बजे बाँके जिल्ला अदालतमा बुझाएको हो ।
यसअघि जन्मकैद सजाय पाएका ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । आदेशलगत्तै रिगललाई पक्राउ गरिएको हो । रिगलका सहयोगीले उनले प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।
नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो ।














