आइसीसी टी-२० विश्वकप एसिया छनोट

यूएईलाई पराजित गर्दै नेपाल टि–२० विश्वकपमा प्रवेश

केन्द्रभाग मिडिया

पोखरा ।

आइसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको छ । यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको हो ।

यूएईले १ सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकोमा नेपालले १७. १ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भट्टायो । यो सँगै नेपालले १० वर्षपछि विश्वकपमा छनोट भएको हो। नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो ।

एसियाबाट दुई टोली विश्व कपका लागि छनोट हुँदा ओमानले पनि आफ्नो स्थान पक्का गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेको थियो ।

नेपालका ओपनर आशिफ शेखको अर्धशतकमा नेपालले विजयी लक्ष्य सहजै भेट्टाएको हो । ओपनर आशिफ ६३ र कप्तान रोहित पौडेल ३५ रनमा नटआउट रहे। आशिफले ५१ बलमा ६ चौका र २ छक्का हाने। २० बलको सामना गरेका रोहितले ३ चौका र १ छक्का हाने।

नेपालले ओपनर कुशल भुर्तेललाई तेस्रो ओभरको अन्तिम बलमा ११ रन बनाउँदा गुमाएको थियो। ८ बलमा २ चौका हानेका कुशल निलंश केशवानीको बलमा मुहम्मद वसिमको बलमा क्याच आउट भए ।

गुल्सन झा २२ रनमा बोल्ड आउट भए । २४ बलमा ३ चौका हानेका गुल्सन बसिल हमिदको बलमा बोल्ड भए । त्यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कुशल मल्ल एक्लैले तिन विकेट लिए । सन्दीप लामिछानेको नाममा २ विकेट र सोमपाल कामी र रोहित पौडेलको नाममा एक÷एक विकेट लिए । कुशलले ३ ओभरमा मात्र ११ रन खर्चे। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चे ।

युएईका लागि सर्वाधिक ६४ रन बनाएका वृत्या अरविन्द कुशल मल्लको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। वृत्याले ५१ बलमा ८ चौका र २ छक्का हाने । आयन अफ्जल खान १ रनमा क्याच आउट भए ।

कप्तान रोहित पौडेलले १६ औं ओभरको पाँचौ बलमा अलि अमिर नसिरलाई ४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । आलिसान सराफु १६ रन बनाउँदा कुशल मल्लको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। सन्दीप लामिछानेले १० औं ओभरको अन्तिम बलमा आशिफ खानलाई १३ रन बनाउँदा एलबीडब्लु धरापमा पारे ।

तिव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरमा एक विकेट र एक रन आउट गर्दै युएईका दुवै ओपनरलाई पवेलियन फर्काए । सोमपालले चौथो ओभरको पहिलो खालिद शाहलाई ३ रनमा रन आउट गराए। त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। १६ बलमा ३ चौका र २ छक्का हानेका वसिम २६ रनमा क्याच आउट भए ।

बसिल हमिद १ रन बनाउँदा सन्दीप लामिछानेको बलमा गुल्सन झा को हातबाट क्याच आउट हुन पुगे। सन्दीपले १८ औं ओभरमा मेडन विकेट लिए । नेपालले अब विश्वकप छनोट एसिया छनोट फाइनलको उपाधिका लागि ओमानसँग खेल्नेछ । आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको हो ।

 

  • १७ कार्तिक २०८०, शुक्रबार १४:१३ प्रकाशित