महोत्तरी ।
होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।
पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ अभियानका साथ हिँडेको पर्यटन व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले पूर्वी नेपालका प्रमुख सहरमा पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायीलाई भेट्दै पोखरा भ्रमणको निम्तो दिने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
पोखराबाट बिहीबार जनकपुर आइसकेको टोलीले उक्त क्रममा राजमार्ग क्षेत्रको बर्दिवासमा त्यहाँका व्यवसायीसँग पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । छलफलमा होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले आफूूहरूले दुई दशकअघिदेखि नेपालभित्रैका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको जानकारी गराए ।
होटल सङ्घले अभियान सञ्चालन गर्दा तत्कालीन समयमा एक प्रतिशतमात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको उनले बताए ।
जाउँ है पोखरा अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्त्वपूर्ण प्रभाव पारेको सुवेदीले बताए । देशमा आन्तरिक द्वन्द्वको समयका साथै कोरोना महामारीलगायतका विभिन्न विपत्तिले समग्र पर्यटन क्षेत्र संकटमा परेका अवस्थामा आन्तरिक पर्यटनले महत्त्वपूर्ण भरथेग गरेको उनले बताए ।