यस वर्ष तिहारमा ४० लाख थान माला खपत हुने अनुमान : भारतीय सयपत्री फूलको माला आयातमा प्रतिबन्ध

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।

तिहारमा अत्यधिक मात्रामा सयपत्री फुलको मालाको माग हुन्छ । यस वर्ष स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकोले भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको पुष्प विकास केन्द्रको जारी सूचनामा उल्लेख छ ।

इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

यस वर्षको तिहारमा ४० लाख थान मालाको खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा फूल खेतीमा देखिएको आर्कषणका कारण मागको ८० प्रतिशत हिस्सा भने नेपाली फूलको उत्पादनले नै धान्ने देखिएको छ ।यस वर्ष नेपालमा ३५ लाख सयपत्री माला, ४ लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार हाराहारी मिक्स माला खपत हुने देखिएको छ ।यसवर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ ।

यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

  • १५ कार्तिक २०८०, बुधबार १४:५५ प्रकाशित