एमालेको चियापान आज, माधव नेपालको पार्टीलाई पनि निम्ता

केन्द्रभाग मिडिया

पोखरा ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बुधबार) चियापान कार्यक्रम गर्दैछ । चाडपर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुने एमालेले जनाएको छ । हरेक वर्ष दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसरमा एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन् । कांग्रेसले यही कात्तिक ११ गते कोजाग्रत पूर्णिमाकै दिन चियापान कार्यक्रम गरेको थियो ।

एमालेले हिजो नै नै चियापान गर्ने भनेको थियो । तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि एमालेले चियापानलाई आजका लागि कार्यक्रम सारेको हो ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ । एमालेले आफ्नो पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाललाई पहिलो पटक चियापान कार्यक्रममा आमन्त्रण गरेको छ ।

माधव नेपालले २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दै पार्टी विभाजन गरेका थिए । त्यसयता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्ततापूर्ण सम्बन्ध थियो । एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए। एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवसहित सबै सांसद र मन्त्रीहरुलाई समेत एमालेले निम्ता दिएको एमाले श्रोतले जानकारी दिएको छ ।

एमालेले पायक पर्ने सर्वसाधारणलाई पनि चियापान समारोहमा उपस्थित हुन आग्रह गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् चियापानमा सहभागी हुन सबैलाई निम्तो दिएका छन् ।

  • १५ कार्तिक २०८०, बुधबार ०८:०७ प्रकाशित