टी–२० विश्वकप छनोट

नेपाल मलेसियामाथि ६ विकेटले विजयी : सेमिफाइनल प्रवेश

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । जारी छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो ।

जितसँगै समूहगत चरणको अन्तिम खेलअगावै नेपाल र ओमान प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । ओमानले पनि जारी प्रतियोगितामा लगातार दुई जित हासिल गरिसकेको छ । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो ।

दोस्रो खेलमा मंगलबार ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । समूहगत चरणको अन्तिम खेलमा बिहीबार नेपालले ओमानको र मलेसियाले सिंगापुरको सामना गर्नेछन् । त्यो खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।

मंगलबारको खेलमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८ ओभरमा चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो ।

  • १४ कार्तिक २०८०, मंगलवार १६:४५ प्रकाशित