पोखरा ।
पोखरामा सातौँ गोदावारी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला २०८० हुने भएको छ । पुष्प मेला यहि कार्तिक १७ गतेदेखि २० गते सम्म पोखराको रंगशालामा हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
‘सुन्दर नगरि पोखराको पहिचान, व्यवसायीक प्रर्वद्धनमा गोदावारीको शान’ भन्ने मुल नारासहित हुने मेला फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीको आयोजना हुन लागेको हो ।
मेलाको कार्तिक १७ गते शुक्रबारको दिन दिउँसो १२ : ३० बजेको समयमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने आयोजकले बतायो ।
पुष्प प्रदर्शनीमा व्यवसायीक २० वटा, कृषि सामाग्रीका स्टल ३ वट र सूचनामूलक १ वटा गरी जम्मा २४ वटा प्रदर्शनी कक्ष रहने मेलाका संयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीका अध्यक्ष डिल बहादुर गुरुङले जानकारी दिए ।
मेलामा विविध जातका गोदावारी फूलका विरुवा, यस वर्ष भित्रिएका गोदावारी फूलका नयाँ प्रजातीका फूलका विरुवा, यस सिजनमा फुल्ने सयपत्र, मखमली तथा अन्य सिजनल फूलका विरुवाहरु प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । मेलामा पुष्प व्यवसायीको क्षेत्रमा भए गरेका गतिविधि सहितका जानकारी पनि प्रदान गरिने छ।
नेपालीहरुको दोस्रो महान चाड तिहार तथा छठ पर्वलाई लक्षित गरि आयोजना हुन लागेको पुष्प मेलामा बिस हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ । पुष्प मेलामा सहभागी सहयोग गर्न आयोजकले सम्पूर्ण पोखरेलीलाई बिनम्र अनुरोध गरेको छ ।













