बुटवल ।
रुपन्देहीको भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।
उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान नहुदाँ राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै व्यवसायीले रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी भएको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारे सहित तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै व्यवसायी चिन्तामा छन् ।
निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ संजाल रुपन्देहीले सोमबारदेखि ३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।
सञ्जालले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्सलगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरुलाई भेटी आन्दोलनमा ऐक्यबद्धताका लागि आग्रह गर्ने जनाएको छ ।
यसैगरी, आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरुलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने र नियमित उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण ¥याली गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
आन्दोलनका कार्यक्रममा दुई दिन विमानस्थलको गेट अगाडि धर्ना दिने र त्यति गर्दा पनि माग सम्बोधन नभए मंसिर २५ पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने संयोजक ज्ञवालीले बताए ।