काठमाडौँ ।
सवारी चालकले अब साथमा सवारी अनुमति पत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । सोमबार नागरिक एपले आफ्नो सामाजिक सञ्चालमार्फत् ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमा लिंक गरेको लाइसेन्सलाई मान्यता दिने व्यवस्था लागू भएको जनाएको छ ।
यो व्यवस्था भएसँगै लाइसेन्स बोकी राख्नुपर्ने झन्झट हटेको छ ।त्यसका लागि नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्छ ।ट्राफिक प्रहरीले राख्ने चेक प्वाईन्टमा चालकले लाइसेन्स देखाएपछि मात्रै छाड्ने गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मात्रै नागरिक एपमा राखेको लाइसेन्स विवरण काम लाग्छ । चालकले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सामान्य अवस्थामा झैँ कारबाही हुने जानकारी सुवेदीले दिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै यो सुविधा दिइएको बताए ।













