अनसनरत भारती पत्रकार सम्मेलनमा बेहोस भइन् : लगियो वीर अस्पताल

केन्द्रभाग मिडिया

काठमाडौं ।

अनसनरत भारती मानन्धर पत्रकार सम्मेलनमा बेहोस भएकी छन् ।

योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती आज (सोमबार) रिपोटर्स क्लबमा पत्रकार सम्मेलनबीच मञ्चमै बेहोस भएपछि उनलाई वीर अस्पताल लगिएको छ।पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई बोल्दै गर्दा कुर्सीमा बसिरहेकी भारती बेहोस भएकी हुन्।

अहिले उनको उपचार जारी छ।रिगललाई असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।त्यसअघि उनी भारतीकी श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय काटिरहेका थिए।

२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतनमाथि खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए।मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालत उपस्थित आत्मसमर्पण गरेका थिए।

त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका लागि जेल पठाइएका थिए।जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो।

झन्डै ५० प्रतिशत सजाय भुक्तान गरेपछि रिगल रिहा भएका हुन्।उनको रिहाइविरूद्ध प्रतिपक्षसँगै सत्तापक्ष दलका नेताहरू र नागरिक समाजले समेत चर्को विरोध गरेका थिए।

  • १३ कार्तिक २०८०, सोमबार १४:५८ प्रकाशित