टी–२० विश्वकप छनोट

सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालको विजयी सुरुवात

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा विजय सुरुवात गरेको छ । नेपालको घरेलु मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

नेपालले सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य १६.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १ ओभरमा ८४ रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए।

दशौं ओभरको पहिलो बलमा आशिफ शेख २७ रनमा बोल्ड आउट भए । दोस्रो विकेटका लागि कुशल र कप्तान रोहित पौडेलले ५७ रनको साझेदारी गरे। १७ औं ओभरको दोस्रो बलमा कुशल ७४ रन बनाउँदा क्याच आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो। सिंगापुरविरुद्ध अविनास बोहोरा एक्लैले तिन विकेट झारे। गुलसन झा, सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । सिंगापुरका लागि अक्षय पुरी १३ र रमेश कलिमुथु १ रनमा नटआउट रहे।

ओपनर रोहन रगांराजनले सर्वाधिक ४६ रन बनाए। ३० बलको सामना गरेका रोहनले ९ चौका र १ छक्का हाने। लामो सट खेल्ने धुनमा रहेका रोहन आठौं ओभरको पहिलो बलमा गुलसन झा को बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।

सोही ओभरको पाचौं बलमा गुलसनले अर्मात्या कउललाई शुन्य रनमा क्याच आउट गरे । २० औं ओभरमा आर्यभिर चौधरी ३७ रनमा क्याच आउट भए। २६ बलमा ५ चौका हान्दै ३७ रन बनाएका चौधरी अविनास बोहोराको बलमा करण केसीको हातबाट क्याच आउट भए ।

सन्दीप लामिछानेले सातौ ओभरको अन्तिम बलमा सुरेन्द्र चन्दमोहनलाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए। सन्दीपले ११ औं ओभरको पहिलो बलमा जनक प्रकाशलाई एलबीडब्लु धरापमा पारे । अविनासले १८ औं ओभरमा लगातार दुई विकेट लिएका छन्। अविनासले १८ औं ओभरको दोस्रो बलमा थिलिप थिलप्पनलाई १ रनमा आउट गरे। त्यसकै चौथो बलमा अविनासले अनन्था कृष्णालाई आउट गरे ।

नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर तथा कप्तान आत्रिया दत्तालाई शुन्य रनमा नै पवेलियनको बाटो देखाए । समूह चरणको दोस्रो खेलमा नेपालले भोलि मंगलबार मलेसियासँग खेल्नेछ। समुह चरणको अन्तिम खेलमा बिहिबार ओमानसँग खेल्ने तालिका छ ।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

  • १३ कार्तिक २०८०, सोमबार १२:२२ प्रकाशित