राष्ट्रसंघका महासचिव गुटेरेस आज पोखरा आउँदै, भोली एबिसी जाने

सुरक्षाका लागि तीन हजार जनाको हाराहारीमा सुरक्षाकर्मी परिचालित, गुटेरेसले एबिसीमा ३० मिनेट विताएर पोखरा नै फर्कने

गोविन्द सुवेदी

पोखरा ।

चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस आज (सोमबार) दिउँसो पोखरा आउँदैछन् । उनी दिउँसो २ः ०० नेपाली सेनाको विमानमा पोखरा विमानस्थल आउने र फिष्टेल लजमा बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

सिडिओ घिमिरेका अनुसार महासचिव गुटेरेस भोली (मंगलबार) विहान ६ः ३० बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत अन्नपूर्ण बेसक्याम्प जानेछन् । अन्नपूर्ण बेसक्याम्पमा उनले आधा घण्टा (३० मिनेट) विताउने छन् । सो क्रममा उनले जलवायु परिवर्तन र त्यसका असरका बारेमा स्थानीयसंग प्रत्यक्ष बुझ्ने छन् । महासचिव गुटेरेस अन्नपूर्ण बेस क्याम्पबाट पुनः होटलमा फर्कने र त्यस लगत्तै पुरानो पोखरा विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

उच्च सुरक्षा स्रोतका अनुसार महासचिव गुटेरेसको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रि अनुसन्धानसहित गरेर तीन हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालित हुनेछन् । नेपाल प्रहरीका दुई हजार, सशस्त्र प्रहरीका ७५०, नेपाली सेनाको २५० को हाराहारीमा सुरक्षाकर्मी परिचालित हुनेछन् । गुटेरेसको सुरक्षाको कमाण्ड नेपाली सेनाले सम्हालेको छ ।

स्पेसल सेक्विरिटी फोर्स नै बनाएर सुरक्षा प्रदान गरिएको छ । सुरक्षाको बाहिरी घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र भित्रि घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ । काठमाडौंबाट नै नेपाली सेनाका कर्णेलको कमाण्डमा ६० जनाको हाराहारीमा स्पेसल सेक्युरिटी फोर्स महासचिव गुटेरेससंग नै आउनेछ ।

महासचिव गुटेरेसको सुरक्षार्थ भित्री घेरामा पुग्नलाई सुरक्षाकर्मीका लागि समेत पासको व्यवस्था गरिएको छ । होटलमा समेत सुरक्षाका लागि सुरक्षाकर्मीलाई नै पासको व्यवस्था गरिएको छ । ‘उच्च सुरक्षा स्रोतले भन्यो, ‘सुरक्षा व्यवस्था चुस्त बनाएका छौं । विना पास भित्री घेरामा स्वयम सुरक्षाकर्मी समेत जान पाउँदैन । होटलमा पनि सुरक्षाकर्मीलाई नै पासको व्यवस्था छ ।’

अघि आइतबार गुटेरेसले काठमाडौंमा राष्ट्रपति रामचन्द्र, पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अधयक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटघाट गरिसकेका छन् । उनले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरिसकेका छन् ।

आइतबार राति प्रधानमन्त्री प्रचण्डको आयोजनामा भएको रात्रीभोजमा सहभागी गुटरेस गुटेरेस सोमबार पोखरा आउनु अगाडि सोलोखुम्बु पुगेर फर्किने छन् ।

महासचिव गुटेरेसले मंगलबार नै लुम्बिनीतर्फ लाग्नेछन् । उनले सोही दिन साँझ संघीय संसद्को दुवै बैठकलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ ।

 

 

  • १३ कार्तिक २०८०, सोमबार ०८:०१ प्रकाशित