पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव देखिएको छ । चाडबाडका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा बी पोजेटिभ समुहको रगतको प्लेटलेस अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्लेटलेस ब्लड ५ दिन भन्दा धेरै समय भण्डारण गरेर राख्न मिल्दैन । यसका लागि नियमित रक्तदान कार्यक्रम जरुरी रहेको उनले बताए ।

रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अभिभावक गृहले पोखरा-५ जिरो किलो मिटरमा सोमबार विहान साढे ७ बजे रक्तदान कार्यक्रम राखेको गृहका अध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिए ।

उनले रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको बताए । उक्त रक्तदान कार्यक्रममा बी पोजेटिभ रक्त समूहका रक्तदातालाई रक्तदाताहरु धेरै सहभागिता जनाउन रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन प्रसाद ज्ञवालीले आग्रह गरेका छन् ।

‘पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव छ । त्यसको माग पुरा गर्न बी पोजेटिभ रक्त समूहका रक्तदाताले दान गर्ने रगत नै चाहिन्छ । त्यसैले बी पोजेटिभ रक्त समूहका रक्तदातालाई विशेषगरी कार्यक्रममा सहभागी भएर रक्तदान गर्न आग्रह गर्दछु’ उनले भने ।

समान्य अवस्थामा दैनिक ८० युनिट रगत चहिन्छ पोखरामा

गण्डकी प्रदेशको राजधानी पोखरामा सामान्य अवस्थामा दैनिक ८० युनिटको हाराहारीमा रगतको माग छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा सबैभन्दा धेरै रगतको खपत हुनेगरेको प्रमुख ज्ञवालीले जानकारी दिए ।

यहाँका अन्य अस्पतालमा पनि रगत खपत हुन्छ । गण्डकी प्रदेशका अन्य जिल्लामा पनि रक्तसञ्चार केन्द्रहरु रहेपनि ति जिल्लामा खासै माग नहुने हुँदा त्यहाँबाट समेत रगत पोखरा आउने गरेको छ ।

कतिपय अवस्थामा पोखराबाट अन्य सहरमा समेत रगत पठाइने गरेको रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा बताउँछन् । ‘यहाँका अन्य जिल्लामा त्यति रगतको माग छैन, ठूलो विरामी हुँदा मानिसहरु पोखरा आइहाल्ने हुँदा वरपरको जिल्लाहरुमा भन्दा यहाँ बढ्ता रगतको माग भएको हो,’ उनले भने ।

चाडबाडका बेला मानिसहरु गाउँ जाने र सहरमा रक्तदान कार्यक्रम नियमित नहुँदा केही समस्या आउने गरेपनि रगतकै अभाव भने हुन नदिइने उनले बताए ।

  • १२ कार्तिक २०८०, आईतवार २१:२२ प्रकाशित