पोखरा ।
पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा मंसिर २ गतेदेखि विश्व शान्ति पूजा हुने भएको छ । ८ दिनसम्म चल्ने पूजामा त्रिपिटक (काग्युर) को १०८ ठेली वाचन हुने आइतबार गुम्बाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । पूजाको उद्घाटन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।
पोखरामा पहिलो पटक हुन लागेको काग्युर वाचनका लागि देश विदेशबाट १०८ लामा गुरु आउने गुम्बाका धर्म लामा गुरु पाल्देन लामाले बताए । उनले कुनै पनि गुम्बा स्थापना भइसकेपछि गुम्बा राप्ने ९प्राणप्रतिष्ठा० नगर्दासम्म औपचारिक उद्घाटन नहुने भएकाले गुम्बा राप्न लागिएको बताए ।
उक्त अवसरमा गत माघ १ गते पोखरामा भएको यति विमानस्थल दुर्घटनामा परी ज्यान गुमाएका ७२ जनाको आत्माको शान्तिको पूजा गरिने गुम्बाले जनाएको छ ।
पाल्देनले गौतम बुद्ध दर्शनसँग सम्बन्धित त्रिपिटक विश्वभर फैलिँदा पनि त्यसमा लिखित दर्शन नेपालमा प्रचार नपाएको बताए ।पूजाको पहिलो दिन शान्ति दीप प्रज्वलन (कु राप्ने)सँगै काग्युर पाठ सुरु हुनेछ । मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा र मंसिर ६ गते विश्व शान्ति रिवासाङ, लामाछाम धर्मपाल गणचक्र पूजा हुनेछ । उक्त पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेले गर्ने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।














