काठमाडौं ।
यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थहरुमा उल्लेख छ ।
यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै मात्र ग्रहण भएको विकास समितिले जनाएको छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चन्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।
ग्रहणमा के गर्नु हुन्छ / के गर्नु हुँदैन ?
दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध, बिरामी, सुत्केरी बाहेकले भोजन गर्न नहुने विकास समितिले जनाएको छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ ।
ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् रामचन्द्र गौतम बताउँछन् ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ ।ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा, नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र त्यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ ।