फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुनः निर्माण सुरु

पुनः निर्माण अवधिभरि बाहिरै पूजाको व्यवस्था

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको आर्कषणको केन्द्र फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनः निर्माण सुरु भएको छ ।आज(बिहीबार)बिहान महानगरका मेयर धनराज आचार्यले मन्दिर पुन निर्माणको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मेयर आचार्यले पैसाको अभावमा पुनः निर्माण नरोकिने बताएका छन् ।

मन्दिर निर्माणका लागि गुरुयोजना बनाइएको छ । २०७२ सालको भूकम्पले मन्दिर ३ इन्च दक्षिणतर्फ ढल्किएपछि जोखिम बढेको भन्दै पुनः निर्माण गर्न लागिएको हो । भूकम्पमा मन्दिर छेउको दुई वटा गोदाम कोठा दबेको छ ।

९ करोड लागतमा मन्दिर पुनः निर्माण गर्न लागिएको हो । २ वर्षभित्रमा सबै संरचना निर्माण पूरा भइसक्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार अहिलेको स्वरूप कायम राख्ने गरी नयाँ संरचना निर्माण हुनेछ । प्यागोडा शैलीमै कालीगढ मगाएर काम थालिएको छ । अहिलेको स्वरूप जस्ताको त्यस्तै रहने छ ।पुनः निर्माणका लागि पुरातत्त्व विभागले २५ लाख र बाँकी रकम मन्दिर व्यवस्थापन समितिले जुटाएको छ ।

वि।सं। १४६७ सालमा तालबाराही मन्दिर स्थापना भएको विश्वास छ । यसलाई पछिल्लो पटक २०१४ सालमा अहिलेको स्वरुपमा निर्माण गरिएको हो । मन्दिर पुनः निर्माण अवधिभरि बाहिरै पूजाको व्यवस्था मिलाइएको छ ।

  • ९ कार्तिक २०८०, बिहीबार १३:५४ प्रकाशित