घाईते मनाङ एयरका क्याप्टेनको उपचारको क्रममा ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा ज्यान गएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको ज्यान गएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेर आगलागी भएको थियो । हेलिकप्टरमा क्याप्टेन सेढाईंमात्र थिए ।

दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।

मनाङ एयर प्रालिले क्याप्टेन सेढाईंको मृत्युको खबरले स्तब्ध बनाएको जनाएको छ ।

  • ८ कार्तिक २०८०, बुधबार १२:४३ प्रकाशित