टी- २० आई त्रिकोणात्मक सिरिज

हङकङलाई हराउँदै नेपाल एक खेल अगाडि नै फाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।

टी-२० आई त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको छ । शनिबार सिरिजको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल अपराजित रहेर एक खेलअगावै फाइनलमा पुगेको हो ।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । हङकङलाई कम स्कोरमा रोक्न सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट आफ्नो नाममा गरे।

हङकङविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका प्रतिश जिसीले १ विकेट लिए । अंशी रथले बनाएको ४५ रन नै हङकङका लागि सर्वाधिक रह्यो। अजिज खानले २५ र बाबर हायातले २० रन थपे ।  अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रनको योगफल तयार पारेको थियो।

पाँचौँ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गरे । पाँचौँ विकेटका लागि टी(२०आई क्रिकेटमा भएको यो नै सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि न्युजिल्यान्डका मार्क च्यापमान र जेम्स निशमले पाकिस्तानविरुद्ध १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए । कुशल मल्ल ९२ रनमा क्याच आउट भए। ४१ बलको सामना गरेका कुशलले ३ चौका र ९ छक्का प्रहार गरे।

३४ बलमा ६ चौका र २ छक्का हानेका दीपेन्द्र ५७ रनमा क्याच आउट भए । आशिफ शेख २० रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ११ रनमा बोल्ड आउट हुँदा सोमपाल कामी ८ रनमा क्याच आउट भए ।

सन्दीप जोरा र गुलसन झा समान १ रनमा नटआउट रहे । सिरिजको अन्तिम खेलमा नेपालले सोमबार यूएईसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन्।

  • ४ कार्तिक २०८०, शनिबार १६:१९ प्रकाशित