फुटपाथमा दशैं किनमेल

साँझ जब चिप्लेढुंगाको फुटपाथमा महानगर प्रहरीले केहीबेर व्यापार गर्न रोक्यो….(फोटो फिचरसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको चिप्लेढुंगा स्थित फुटपाथमा साँझ व्यवसाय गर्नेहरुलाई पोखरा महानगर प्रहरीले केही बेर सामान राख्न रोकेको छ । शुक्रबार साँझ ८ः२० सम्म महानगर प्रहरी फुटपाथमा बस्दा सडकमा वयापार गर्नेहरु फुटपाथमा पसल राख्न सकेनन् । तर, जब ८ः२० बजे त्यहाँबाट महानगर प्रहरी बाहिरियो तब फुटपाथमा व्यवसायीहरुले धमाधम सामान फुटपाथमा राख्न थाले र व्यापार सुरु गरे ।

बिहीबार साँझ ७ः३० बजेसम्म र शुक्रबार साँझ ८ः३० बजेसम्म आफूहरुले फुटपाथमा व्यवासाय गर्न रोकेको महानगर प्रहरी प्रमुख नगरप्रहरी निरीक्षक पुरुषोतम थापाले बताए । पोखरा उद्योग वाणिज्य संघ र स्वयम पैदल यात्रुले समेत गुनासो गरेपछि आफूहरले यसरी सडकमा व्यापार गर्न रोकेको उनले जानकारी दिए । चाडबाडमा धेरै भिडभाड हुने र फुटपाथ सडक व्यापारीले ओगटेर बस्दा हिँडडुलमै समस्य परेको उनको भनाई छ । त्यसैलाई रोक्न आफूहरले प्रयास गरेको उनले बताए ।

साँझ ८ः३० बजे पछि फुटपाथमा व्यापार गर्न स्वतन्त्र हो भन्ने जिज्ञासामा उनले ‘होइन’ भनेका छन् । नगरप्रहरीको घर टाढा रहेकाले राति ड्यिुटी गर्न नसकिएको उनले सुनाए । चिप्लेढुंगाका एक व्यवसायीे केहीबेर भएपनि रोकेकोमा नगरप्रहरीलाई धन्यवाद दिनुपर्ने टिप्पणी गर्छन् ।

फुटपाथ व्यापार निशेधित पोखरा घोषणा भएको लामो समय भएको तर सटरमा भन्दा अहिलेपनि फुटपाथमै साँझ धेरै व्यापार हुनेगरेको उनले सुनाए । ‘फुटपाथमा व्यापार गर्न पाइँदैन भनेर रोकेको धेरै वर्ष भइसक्यो । तर अहिलेपनि दिउँसो सटरहरुमा भन्दा राति फुटपाथमा व्यापार धेरै गर्छन् । उनीहरुलाई न ट्याक्स तिर्नुपछ न सटर भाडा’ उनले टिप्पणी गरे ।

 

  • ३ कार्तिक २०८०, शुक्रबार २१:४२ प्रकाशित