पोखरा ।
आज नेपाल र लाओसले फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दैछन् । लाओसको घरेलु मैदानमा हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरु दोस्रो खेलका लागि राम्रो तयारी गरेको बताएका छन् । खेल साँझ पौने ६ बजेपछि सुरु हुनेछ ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक एनेसले भने, ‘यो खेल नेपाल र मेरो लागि पनि निकै महत्वपूर्ण छ। यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ । हामी लाओससँगको भिडन्तका लागि तयार छौं। हामी आक्रामक फुटबल खेल्नेछौं । हामीले आफैमा ध्यान केन्द्रित गर्न आवश्यक छ।’
टोलीका कप्तान किरण कुमार लिम्बुले आज सुधारिएको खेल पस्कने बताएका छन्, ‘यो खेल हाम्रो लागि निकै महत्वपुर्ण छ, पहिलो खेल निकै निरासाजनक रहेको थियो। हामी राम्रो खेल प्रस्तुत गर्न चाहान्छौँ पहिलो खेलमा गरेका स–साना गल्तीहरुलाई सुधार्न काम गरिरहेका छौँ। दशैं पर्व मनाउन घर फर्किएका समर्थकहरुलाई राम्रो नतिजा दिएर खुसी दिलाउने प्रयासमा हुनेछौँ’ उनले भने ।
उता लाओसका प्रशिक्षक कालाया सिसोम्वाङले आफुहरुले अघिल्लो खेलबाट सिकेका धेरै कुरालाई विश्लेषण र अध्ययन गरेको बताएका छन् ।
पहिलो खेलमा टोलीका मुख्य खेलाडी घाइते भएका र उनी ठीक भइरहेको बताउँदै प्रशिक्षक कालायाले आफूहरुसँग २३ खेलाडी रहेको र सँधै टोलीलाई नै प्राथमिकता दिएका बताए ।
पहिलो लेगमा १–१ को बराबरी गरेका दुवै टोली दोस्रो खेलमा स्पष्ट जित निकाल्न चाहन्छन् । दोस्रो लेग पनि बराबरी भएमा खेलमा ३० मिनेट थप गरिनेछ । ३० मिनेटमा पनि बराबरी भए खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ ।