आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिदैं

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

आज नवरात्रको तेस्रो दिन । दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।

चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र कल्याणकारी रहेको छ ।

असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ । शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूजिन्छ ।

चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको परिकारहरू चढाउने चलन छ । दुधका परिकारहरू चढाउँदा देवी प्रशन्न हुने जनविश्वास छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईचो लाग्ने गर्छ ।

  • ३० आश्विन २०८०, मंगलवार ०७:१३ प्रकाशित