काठमाडौँ ।
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिएको हो ।
महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन समय अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू–भाग तथा बागमती प्रदेश र मधेस प्रदेशका आंशिक भू–भागबाट बाहिरिएको छ ।
यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भूभागबाटसमेत मनसुन बाहिरीसकेको छ ।














